ओमानलाई बम हानेर उडाइदिने राष्ट्रपति ट्रम्पको धम्की

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अमेरिकी प्रशासनले गरिरहेको वार्तामा ओमानले अवरोध गरे उसलाई बमबारी गर्ने धम्की दिनुभएको छ । फक्स न्युजका अनुसार ट्रम्पले फोन अन्तर्वार्ताका क्रममा ओमानले बाटो छेक्छ भने उनीहरूलाई बमले उडाइदिने धम्की दिनुभएको हो ।

अमेरिकाको सहयोगी तथा तटस्थ राष्ट्रका रूपमा रहेको ओमानले इरानसँग छुट्टै वार्ता गर्दै होर्मुज जलडमरू पुनः खोल्ने प्रयास गरिरहेको छ । विश्वको करिब पाँचौँ भाग कच्चा तेल र तरलीकृत प्राकृतिक ग्यास ओसारपसार हुने यो सामुद्रिक मार्ग करिब छ महिनादेखि अवरुद्ध छ ।

सोमबार इरानले ओमानसँग जहाजहरूलाई जलडमरू हुँदै आवतजावत गर्न दिने विषयमा समझदारी भएको जनाएको थियो । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले दुई पक्षले पारवहन मार्गको नक्साबारे समझदारी गरेको र बाँकी विवरण अन्तिम रूप दिएपछि संयुक्त वक्तव्य जारी गर्ने बताएका छन् ।

ओमानले यसअघि इरानसँगको वार्ता सकारात्मक रहेको बताउँदै आएको थियो । तर, पछिल्लो समय ओमान स्वयं पनि इरानबाट भएका केही आक्रमणको चपेटामा परेको छ ।