“विचारलाई समयसापेक्ष र व्यावहारिक बनाएर मात्रै मदन भण्डारीप्रति साँचो सम्मान गर्न सकिन्छ” : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीका विचारलाई जस्ताको तस्तै दोहोर्याउनेभन्दा पनि त्यसको मूल मर्मलाई आत्मसात् गर्दै बदलिँदो समय र नयाँ पुस्ताको आवश्यकताअनुसार अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ।
मदन भण्डारी आइडियोलोजी स्टुडेन्ट फोरुमद्वारा काठमाडौँको नयाँ बानेश्वरस्थित अल्फा बिटामा आयोजित “नेपालको बदलिँदो राजनीतिक, प्राविधिक तथा भू–राजनीतिक यथार्थसम्बन्धी युवा संवाद” कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।
कार्यक्रममा मदन भण्डारीको विचार, जीवन, संघर्ष र योगदानको स्मरण गर्दै पूर्वराष्ट्रपति भण्डारीले उहाँले नेपालको कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिक प्रक्रियासँग जोड्दै ‘जनताको बहुदलीय जनवाद’ (जबज) को अवधारणा अघि सार्नुभएको स्पष्ट पार्नुभयो। लोकतन्त्रलाई केवल निर्वाचनमा मात्र सीमित नराखी जनताको सार्वभौमिकता, राजनीतिक स्वतन्त्रता, मानव अधिकार र सामाजिक न्यायसँग जोडेर हेरिएको उहाँको भनाइ थियो।
कुनै पनि विचारधारा समयसँग संवाद गर्दै अघि बढ्न सकेन भने त्यसको सान्दर्भिकता कमजोर हुने बताउँदै युवाहरूले मदन भण्डारीका विचारलाई समय र नयाँ पुस्ताको भावनाअनुसार बुझ्नुपर्नेमा उहाँले जोड दिनुभयो। आजको युवा पुस्ता सूचनासम्पन्न भए पनि धेरै सूचना हुनु र सही ज्ञान हुनु एउटै कुरा नभएको उल्लेख गर्दै सूचनालाई तथ्यसँग, भावनालाई विवेकसँग र आलोचनालाई रचनात्मकतासँग जोड्न सक्नुपर्ने उहाँको भनाइ छ।
राजनीति निर्वाचनका बेला मत माग्ने वा दिने विषय मात्र नभई समाज बुझ्ने, नीति निर्माणमा भूमिका खोज्ने र देशको विकासमा रचनात्मक योगदान गर्ने निरन्तर प्रक्रिया भएको उहाँले बताउनुभयो। “देशको भविष्य अरू कसैले बनाइदिने होइन, तपाईँहरूकै पुस्ताले बनाउने हो,” भन्दै पूर्वराष्ट्रपति भण्डारीले युवाहरूलाई लोकतन्त्रप्रति प्रतिबद्ध, अध्ययनशील र जिम्मेवार नागरिक बन्न आह्वान गर्नुभयो।

