नेपाल कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने परराष्ट्रमन्त्री साउदको भनाइ

काठमाण्डौ । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने बताउनु भएको छ । युगाण्डाको कामपालामा असंलग्न राष्ट्रहरुको आन्दोलन (नाम)को परराष्ट्र मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले कुनै पनि देशको सुरक्षा सम्झौता नेपालले स्वीकार नगर्ने प्रष्ट पार्नु भएको हो ।

कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने र कुनै पनि देशको सुरक्षा सम्झौताको हिस्सा हुन पनि स्वीकार नगर्ने उहाँले बताउनु भएको हो । बैठकलाई सम्बोधन गर्दे मन्त्री साउदले सधैं स्वतन्त्र, वस्तुनिष्ठ, सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने बताउनुभयो ।

माघ ५ र ६ गते हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९औँ शिखर सम्मेलनमा भाग लिन युगान्डाको राजधानी कम्पाला पुग्नु भएका साउदले विश्वव्यापी समृद्धिका लागि गहिरो साझेदारी हुनुपर्नेमा पनि जोड दिनुभयो ।

मन्त्री साउदले असंलग्न आन्दोलन संगठित भएको ७ दशकमा सदस्य राष्ट्रहरू साझा मूल्यप्रति सचेत रहेको बताउँदै त्यसले एकताबद्ध गरेको धारणा पनि राख्नुभयो ।