मदन भण्डारी कलेजमा साइबर सुरक्षाबारे अन्तर्राष्ट्रिय विज्ञद्वारा विशेष प्रशिक्षण

काठमाडौं । मदन भण्डारी मेमोरियल कलेजमा आज साइबर सुरक्षा र इन्टरनेटमा बढ्दो डिजिटल जोखिमसम्बन्धी विशेष प्राविधिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको मुख्य प्राविधिक सत्रमा ग्लोबल थ्रेट इन्टेलिजेन्स संस्था ‘टिम सिम्ब्रू’ का समुदाय संलग्नता व्यवस्थापक ज्याकोमो  र ट्युनिसियाका तारेक ले सहजीकरण गर्नुभएको थियो। दुवै विज्ञहरूले ब्राजिल र ट्युनिसियाको राष्ट्रिय कम्प्युटर आपतकालीन प्रतिक्रिया टोली तथा शैक्षिक नेटवर्किङ क्षेत्रमा काम गरेको आफ्नो लामो अनुभव साट्दै वर्तमान समयका जटिल डिजिटल खतराहरूप्रति प्रकाश पार्नुभयो।

कार्यक्रममा अन्तर्राष्ट्रिय साइबर सुरक्षा विज्ञ जियाकोमो र तारिकले विद्यार्थीहरूलाई आधुनिक साइबर चुनौती, कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग, प्रोक्सी नेटवर्क, ह्याकिङ तथा व्यक्तिगत डिजिटल सुरक्षाका विषयमा विस्तृत जानकारी दिनुभएको हो ।

कार्यक्रममा बोल्दै साइबर सुरक्षा विज्ञ जियाकोमोले पछिल्लो समय विश्वभर साइबर अपराधको स्वरूप तीव्र रूपमा परिवर्तन भइरहेको उल्लेख गर्दै प्रोक्सी नेटवर्क, असुरक्षित इन्टरनेट उपकरण ९आईओटी०, निःशुल्क भीपीएन तथा अविश्वसनीय एपहरूको प्रयोगले व्यक्तिगत तथा संस्थागत सुरक्षा गम्भीर जोखिममा परेको बताउनु भयो ।

उहाँले साइबर अपराधीहरूले एआईको प्रयोग गरेर अझ परिष्कृत फिसिङ आक्रमण, पासवर्ड चोरी, डिजिटल पहिचान दुरुपयोग तथा नेटवर्कमा घुसपैठ गर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै विद्यार्थीहरूलाई डिजिटल सुरक्षाबारे सचेत रहन आग्रह गर्नुभयो । उहाँले एउटै पासवर्ड धेरै सेवामा प्रयोग नगर्न, दुई तहको प्रमाणीकरण (टु–फ्याक्टर अथेन्टिकेसन) अपनाउन, आधिकारिक एप स्टोरबाहेक अन्य स्रोतबाट एप डाउनलोड नगर्न तथा निःशुल्क भीपीएन वा शंकास्पद सफ्टवेयर प्रयोग नगर्न सुझाव दिनुभयो।

कार्यक्रममा साइबर सुरक्षाको क्षेत्रमा अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताको समेत प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै एआईको प्रयोग गरी आईओटी उपकरणको सुरक्षा सुधार, सफ्टवेयर कमजोरी पहिचान तथा सुरक्षित डिजिटल पूर्वाधार निर्माणमा विद्यार्थीहरूले अनुसन्धान गर्न सक्ने धारणा राखिएको थियो।

प्रश्नोत्तर सत्रमा विद्यार्थीहरूले सामाजिक सञ्जालमा नक्कली पहिचान, डार्क वेब, साइबर आक्रमण, निःशुल्क भीपीएनको जोखिम, एआईको प्रयोग तथा व्यक्तिगत डिजिटल सुरक्षा सम्बन्धी जिज्ञासा राखेका थिए। वक्ताहरूले सामाजिक सञ्जालमा व्यक्तिगत जानकारी अनावश्यक रूपमा सार्वजनिक नगर्न, अपरिचित व्यक्तिले पठाएका लिङ्कमा क्लिक नगर्न तथा आफ्ना डिजिटल खाताको सुरक्षालाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा कलेजका सहायक क्याम्पस प्रमुख प्रज्वलमान श्रेष्ठले नेपाल जस्ता विकासोन्मुख राष्ट्रहरूमा समेत हजारौंको संख्यामा आवासीय प्रक्सीहरू सक्रिय रहेको डरलाग्दो तथ्यांक प्रस्तुत भएको उल्लेख गर्दै यसलाई गम्भीर राष्ट्रिय सुरक्षा चुनौतीको रूपमा लिनुपर्ने बताउनु भयो। जेन जेड र जेन अल्फाका युवा विद्यार्थीहरूले यस क्षेत्रमा गहिरो अनुसन्धान गरी स्थानीय समाधान र सुरक्षित आईपी विकल्पहरू विकास गर्नुपर्नेमा उहाँले विशेष जोड दिनुभयो। प्राज्ञिक क्षेत्रले समस्याको विश्लेषण मात्र नगरी ठोस समाधान दिनुपर्ने बताउँदै सहायक क्याम्पस प्रमुख श्रेष्ठले यस्ता अन्तर्राष्ट्रियस्तरका ज्ञानवर्धक सत्रहरूले विद्यार्थीहरूको दक्षता अभिवृद्धि गर्न ठूलो सहयोग पुर्‍याएको बताउनु भयो ।

यस्तै प्लस–टु प्रमुख कमल न्यौपानेले आजको डिजिटल युगमा प्रत्येक व्यक्ति कुनै न कुनै रूपमा साइबर जोखिमको घेरामा रहेको उल्लेख गर्नुभयो । आफूले दैनिक रूपमा मोबाइल फोन, ल्यापटप तथा विभिन्न इन्टरनेट नेटवर्क र सार्वजनिक इन्टरनेट सेवा प्रयोग गर्ने भएकाले व्यक्तिगत रूपमा पनि साइबर आक्रमणको जोखिम महसुस गर्ने गरेको बताउनुभयो ।

उहाँले अहिलेको समयमा डेटा नै व्यक्तिको सबैभन्दा महत्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्दै त्यसको सुरक्षामा सबैले विशेष ध्यान दिनुपर्ने बताउनुभयो। साइबर सुरक्षाबारे अन्तर्राष्ट्रिय विज्ञहरूले प्रस्तुत गरेका अनुभव, जोखिम न्यूनीकरणका उपाय तथा समुदायलाई सुरक्षित बनाउने व्यवहारिक सुझाव विद्यार्थीहरूका लागि अत्यन्त उपयोगी रहेको उहाँको भनाइ थियो।

कार्यक्रमको अन्त्यमा अतिथि विज्ञहरूलाई कलेजको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।