मोरङमा ‘डिजे’ बजाउन प्रतिबन्ध, उल्लंघन गरे कारबाही हुने
काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभर ‘डिजे’ प्रयोगमा निषेध गरेको छ । प्रशासनले सोमबार एक सूचना जारी गर्दै अर्को आदेश नभएसम्मका लागि डीजे बजाउन रोक लगाएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार मोरङ जिल्ला भित्र आयोजना हुने मेला, महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम तथा पुराणलगायतका कुनै पनि कार्यक्रममा डीजेको प्रयोग गर्न पाइने छैन ।
ध्वनि प्रदूषण बढ्ने र सामाजिक सद्भाव तथा शान्ति सुरक्षामा समेत असर पुग्न सक्ने कुरालाई ध्यानमा राख्दै यस्तो कडाइ गरिएको प्रशासन स्रोतले बतायो ।
सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा जारी सूचनामा भनिएको छ, ‘यो सूचना विपरीत कसैले डिजेको प्रयोग गरे वा गराएको पाइएमा कानून बमोजिम कारबाही गरिनेछ ।’

