देवानगन्ज घटना : प्रदेश राजधानी विराटनगर बन्द
काठमाण्डौ । आइतबार राती सुनसरीको देवानगन्ज–३ कप्तानगन्जमा एक जनाको ज्यान जाने गरी भएको घटनाको विरोधमा आज कोशी प्रदेशको राजधानी विराटनगर बजार बन्द भएको छ।
विराटनगरको मुख्य बजार क्षेत्रका पसलहरू बन्द भएका छन् भने यातायातका साधनहरू सामान्य रूपमा सञ्चालनमा रहेका छन्।
कप्तानगन्ज घटनाको विरोधमा विराटनगर बजार बन्द गरिएपछि विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीलाई पनि बजार क्षेत्रमा परिचालन गरिएको छ।
विराटनगरको शान्ति सुरक्षाको अवस्था सामान्य रहेको मोरङ प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ।
यस्तै, आज विराटनगरका सबै शैक्षिक संस्थाहरू बन्द भएका छन्। कसैले बन्द आह्वान नगरेपनि शैक्षिक संस्था र बजार पसल बन्द भएको प्रहरीले जनाएको छ।

