मन्त्रिपरिषद् बैठकद्वारा ग्रीन हाइड्रोजन उत्पादन र प्रयोग गर्न पाउने नीति पारित

काठमाण्डौ । मन्त्रिपरिषद् बैठकले ग्रीन हाइड्रोजन उत्पादन र प्रयोग गर्न पाउने नीति पारित भएसंगै नेपालमा ग्रीन हाइड्रोजन उत्पादन र प्रयोग गर्ने बाटो खुलेको छ ।

विश्वमा आधुनिक हरित ऊर्जाको रुपमा विकास भइरहेको ‘ग्रीन हाइड्रोजन’ लाई नेपालमा पनि प्रयोगमा ल्याउने गरी २०७८ मंसिरदेखि नै यसको नीति बनाउने प्रक्रिया सुरु भएको थियो । नेपालमा पनि खाना पकाउन र गाडी चलाउनका लागि हाइड्रोजन ऊर्जा प्रयोगमा ल्याउन सकिने काठमाण्डौ विश्वविद्यालय अन्तर्गतको नेपाल हाइड्रोजन इनिसिएटिभ्सले जनाएको छ ।

यसको प्रयोग बढाउन सकेमा पेट्रोलियम पदार्थको आयात घट्ने र व्यापार घाटा पनि कम हुने विश्वास गरिएको छ । हाइड्रोजन ब्रह्माण्डमै सबैभन्दा प्रचुर मात्रामा पाइने रासायनिक तत्त्व हो । प्रचुर मात्रामा उपलब्ध भए पनि यो ग्यासकै रुपमा प्रयोग गर्न मिल्ने मात्रामा रहेको भने हुँदैन । यो पानीजस्तै मिश्रणको रुपमा रहेको हुन्छ । औद्योगिक विधिहरु प्रयोग गरेर हाइड्रोजन उत्पादन गर्नुपर्छ ।