प्रतिनिधिसभा बैठक अब साउन १४ बस्ने

काठमाण्डौ । प्रतिनिधिसभाको बैठक अब १५ दिनपछि मात्रै बस्ने भएको छ । सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक साउन १४ गते बिहान ११ बजे बस्ने जानकारी दिनुभयो ।

सांसदहरूलाई मतदाता तथा नागरिकसँग पुग्न समय आवश्यक भएको महसुस गरेको भन्दै संसद् स्थगित गरिएको जानकारी दिनुभयो ।

“संसद् लोकतन्त्रको केन्द्रबिन्दु हो । संसद्को जीवन्तता सांसदहरू जनतासँग कति निकट छन् भन्ने कुराले निर्धारण गर्दछ । प्रतिनिधिसभाका सदस्यहरू जनप्रतिनिधिसँगै जनता र संसद्‌बीच विश्वास, संवाद र उत्तरदायित्व जोड्ने लोकतान्त्रिक सेतु पनि हुन्,” उहाँले भन्नुभयो , “जनताका आवाज, आकांक्षा र अपेक्षालाई संसदको निर्णय प्रक्रियासम्म पुर्‍याउने र संसद्‌का निर्णयलाई पुनः जनतामाझ स्थापित गर्ने दुईतर्फी दायित्व नै जनप्रतिनिधित्वको सार हो ।”

उहाँले संसदीय बैठकको विश्रामलाई जनतासँगको विमर्शमा रुपान्तरण गर्न आग्रह गर्नुभयो ।

आजको सदनअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । बैठकमा १५ दिनपछि मात्रै बैठक बस्ने निर्णय भएको थियो ।