सुदूरपश्चिममा एमालेले ठोस निर्णय नदिएपछि मन्त्रिमण्डल हेरफेर
धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले संविधानले दिएको अधिकार प्रयोग गरेर मन्त्रिमण्डल हेरफेर गरिएको बताउनुभएको छ ।
नेकपा एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले संवैधानिक अधिकार प्रयोग गरेर मन्त्रिमण्डल हेरफेर गरिएको बताउनुभयो ।
जिम्मेवारी हेरफेर गर्ने र कार्य विभाजन तोक्ने सन्दर्भमा निर्णय लिएको शाहको भनाइ छ ।
असार १ गते संसद्मा बजेट प्रस्तुत भइकेपछि सत्ता साझेदार एमाले र आफ्नोबीचमा विभिन्न चरणमा संवाद निरन्तर चलेको र आजका मितिसम्म पनि संवाद कायमै रहेको मुख्यमन्त्री शाहले बताउनुभयो ।
मुख्यमन्त्री शाहले बजेटमा प्राविधिक त्रुटीहरू भए सच्याएर भए पनि समझदारीका आधारमा अगाडि बढाऔं भन्दा एमालेले ठोस निर्णय नगरेपछि मन्त्रिमण्डल हेरफेर गर्नुपर्ने परिस्थिति निर्माण भएको उहाँको भनाइ छ । अब प्रदेश सरकार संवैधानिक र कानुनी प्रावधान भित्र रहेर अगाडि बढ्ने पनि उहाँले बताउनुभयो ।
एमालेसँगको सहकार्य टुटेको र नेपाली कम्युनिस्ट पार्टीसँग सहकार्य प्रारम्भ हुने विषयबारे पनि उहाँलाई प्रश्न गरिएको थियो ।

