मापदण्ड अनुसार सञ्चालन भएन वैदेशिक रोजगार अभिमुखीकरण तालिम

काठमाण्डौ । नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सञ्चालित अभिमुखीकरण तालिम मापदण्ड अनुसार सञ्चालन नभएको पाइएको छ । वैदेशिक रोजगार विभागका अनुसार तालिम प्रदायक कतिपय सङ्घसंस्थाले अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ अनुसार मापदण्ड पूरा नगरी तालिम सञ्चालन गरेको पाइएको जनाएको हो ।

यसअघि पनि विभागले गरेको अनुगमनमा कतिपय तालिम प्रदायकहरूले कक्षा सञ्चालन नै नगर्ने र श्रमिकको औँठाछाप समेत गलत लगाउने गरेको पाइएको थियो । वैदेशिक रोजगारीमा जानेहरूलाई गन्तव्य देशको बारेमा जानकारी दिने यो तालिम नै प्रभावकारी रूपमा सञ्चालन नहुँदा श्रमिकहरु परदेशमा समस्यामा पर्ने गरेका छन् ।

यो कक्षामा वैदेशिक रोजगारीमा जानेलाई आफू जाने देश, त्यहाँ गर्नु पर्ने काम, बोलिने भाषा, श्रम कानुन, ट्राफिक नियमजस्ता विभिन्न विषयमा जानकारी दिइन्छ । तर पछिल्लो समय श्रमिकले यो कक्षा लिए नलिएको जाँच गर्ने श्रम डेस्क विमानस्थलबाट हटेदेखि कक्षाको प्रभावकारितामा पनि कम हुँदै गएको छ ।

मापदण्ड पूरा नगरी कक्षा सञ्चालन गर्ने तालिम प्रदायक संस्थालाई विभागले जतिसक्दो छिटो कार्यविधिले तोकेको मापदण्ड पूरा गर्न निर्देशन दिएको छ । यसका साथै संस्थाहरूले अहिले तालिम सञ्चालन गरिरहेको ठाउँ र कर्मचारीहरूको विवरण पनि सात दिनभित्र विभागको अभिमुखीकरण तथा अनुगमन शाखामा बुझाएर अद्यावधिक गराउन सूचना जारी गरेको छ ।

निर्देशन पालना नगर्ने संस्थालाई वैदेशिक रोजगार ऐन, २०६४, बमोजिम कारबाही गरिने विभागले जनाएको छ ।