आज र भोलि पहाडी तथा तराई क्षेत्रमा ठूलो पानी पर्ने

काठमाण्डौ ।   आज र भोलि पहाडी तथा तराई क्षेत्रमा ठूलो पानी पर्न सक्ने सम्भावना भएका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । मनसुन सक्रिय भएको तथा मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली छ ।

अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँ तथा सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।  आज दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका धेरै ठाउँ र लुम्बिनी तथा सुदूरपश्चिमका केही ठाउँमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ ।

मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक/दुई ठाउँमा आरीघोप्टे र मुसलधारे वर्षाको सम्भावना छ । विशेष गरी ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा धेरै ठाउँमा बदली हुनेछ भने कर्णाली र सुदूरपश्चिममा सामान्यदेखि पूर्ण बदली रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेग तथा मधेससहित ती प्रदेशका तराईका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । ती प्रदेशका पहाडी भागका एक/दुई ठाउँमा अति ठूलो पानी पर्न सक्ने अनुमान छ ।

मौसम पूर्वानुमान महाशाखा र विपद् व्यवस्थापन प्राधिकरणले आज र भोलि विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्र तथा तराई/मधेसका क्षेत्रमा बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन, यात्रामा चनाखो रहन आग्रह गरेका छन् ।