यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
काठमाण्डौ । सरकारले ‘राजनीतिक दलसम्बन्धि ऐन–२०७३ लाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गरेको छ ।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो विधेयक संघीय संसदमा पेस गर्नका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयको प्रस्तावमा सो विधेयक संघीय संसदमा पेस गर्ने अनुमति दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले बताउनुभयो ।
त्यसैगरी बैठकले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन–२०७६ लाई संशोधन गर्न बनेको २०८०’ जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद् बैठकले गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गरेको छ । त्यसैगरी नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेशचन्द न्यौपानेलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, बैठकले सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा किरणबाबु पुनलाई नियुक्त गरेको छ ।