मधेसका मुख्यमन्त्रीकै अगाडि ‘भ्रष्टाचारी सरकार’ भन्दै जनमतका कार्यकर्ताहरूले गरे प्रदर्शन
काठमाण्डौ । मधेस प्रदेश सरकारले पूरा गरेको एक वर्षको उपलब्धि सार्वजनिक गरिरहेका मुख्यमन्त्रीको कार्यक्रममा सत्ता साझेदार दल जनमतले प्रदर्शन गरेको छ ।
जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले ‘भ्रष्टाचारी सरकार मुर्दावाद’ भन्दै विरोध प्रदर्शन गरेका हुन् । मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो नेतृत्वको सरकारको एक वर्षको कार्यहरूको जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा सत्ता साझेदार जनमत पार्टीका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका हुन् ।
महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवनमा आफ्नो उपलब्धि सार्वजनिक गरेर पत्रकारहरूले प्रश्नको जवाफ दिन लाग्दा जनमतका सचिव विपी साहको नेतृत्वमा कार्यकर्ताहरूले भ्रष्टचारी सरकार मुर्दावाद, साईकल चोरलाई कारवाही गर जस्ता नारावाजी गरेका हुन् ।
जनमतका कार्यकर्ताहरूले नारावाजी गरिरहेको अवस्थामा मुख्यमन्त्री यादवले पटक-पटक शान्त रहन आग्रह गरेपनि जनमतका कार्यकर्ताहरूले विरोध जनाइरहेका थिए । नारावाजीपछि विरोध गर्नेहरू आफैं सभाहलबाट बाहिर निस्केका थिए । मुख्यमन्त्री यादवले आफ्नो नेतृत्वको सरकारमा कुनैपनि प्रकारले अनियमितता नभएको जिकिर गर्नु भयो ।
जनमतको विरोधपछि मुख्यमन्त्री यादवले जनमत पार्टी कुन नैतिकताले सरकारमा बसेको भनी प्रश्नसमेत गर्नुभयो । मधेस प्रदेश सरकारले प्रदेशको नामाकरण र राजधानी तोकिएको दिनलाई मधेस स्वाभीमान दिवस मनाउने निर्णय गरेको छ । सोहीअनुसार आज स्वाभिमान दिवससमेत मनाएको छ ।