मौसम खबर : देशका धेरै स्थानमा भारी वर्षा, अबको तीन दिन लगातार झरी पर्ने

काठमाण्डौ ।  देशभर मनसुनको न्यून चापीय रेखा सरदरको स्थानभन्दा उत्तरतिर रहेको र बिस्तारै नेपाल नजिक आउने क्रम चलिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू, कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । अबको तीन दिन देशभर पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनु भएको छ ।

आज दिउँसो कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र मधेस प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् नगरकोटीले बताउनु भएको छ ।

यस्तै कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको उहाँको भनाई छ ।
आज राती भने कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।