इन्धनको भाउ घट्यो, खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँ पर्ने

काठमाण्डौ । नेपाल आयल निगमले इन्धनको भाउ घटाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले गए राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको भाउ घटाएको हो । निगम सञ्चालक समितिको हिजो बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँले घटाउने निर्णय गरेको छ ।

योसँगै पहिलो वर्ग चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेल १९२ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १९६ रुपैयाँ तथा डिजेल र मट्टितेल १९४ रुपैयाँ तथा तेस्रो वर्ग काठमाण्डौ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ तथा डिजेल र मट्टितेलको भाउ १९५ रुपैयाँ कायम भएको छ ।

आईओसीबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा १५ रुपैयाँ ९ पैसा, डिजेलमा २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धनमा २९ रुपैयाँ ४२ पैसा र ग्यासमा समेत मूल्य घटेर आएपछि निगमले मूल्य समायोजन गरेको हो । त्यसैगरी खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर एक सय रुपैयाँ घटाइएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य अब प्रतिसिलिन्डर अर्थात् १४.२ किलोको दुई हजार ६० रुपैयाँ पर्नेछ । यसअघि ग्यासको मूल्य दुई हजार एक सय ६० रुपैयाँ रहेको थियो । त्यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर दुई सय २९ रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य काठमाण्डौका लागि प्रतिकिलोलिटर दुई सय ६५ अमेरिकी डलरले घटाएर एक हजार ५ सय ६६ डलर कायम गरिएको छ । पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय हवाई इन्धनको हकमा भने निगमले ‘ब्रेकइभन पोइन्ट’ (नाफा घाटा नहुने बिन्दु) मा बिक्री मूल्य कायम गरेको जनाएको छ । जसअनुसार अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य पोखरामा एक हजार एक सय डलर र भैरहवामा एक हजार ८५ डलर तोकिएको छ ।