मनसुन सक्रिय हुँदा केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाण्डौ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

आज मङ्गलबार गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा मनसुन विस्तार भएको महाशाखाले जनाएको छ ।

आज राती कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक, दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी, मधेस प्रदेश तथा बागमती प्रदेशको पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

भोलि बुधबार र पर्सी बिहीबार देशभर पूर्णतया बादल लाग्नेछ भने देशको हिमाली र पहाडी भूभागको केही स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा, हिमपात हुने सम्भावना छ ।

भोलि कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक, दुई स्थानमा भारी वषाएको सम्भावना छ । पर्सी भने देशका पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।