एन्फाका पूर्वअध्यक्ष शेर्पा ठगी आरोपमा पक्राउ

का‍ठमाण्डौ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी आरोपमा अनुसन्धानका लागि हिजो बेलुका शेर्पालाई बुढानीलकण्ठ गणेश चोकबाट पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराले हात्तीगौडामा सञ्चालित टुङ्गराम ईन्टरनेशनल एकेडेमीको आठ करोड ७८ लाख ३० हजार रकम अपचलन गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिनुभयो ।

विद्यालयको कार्यकारी प्रमुख भएर काम गर्दा शेर्पाले विभिन्न प्रपञ्च गरेर लाभ लिएको र विद्यालयलाई हानि पुर्‍याएको कसुरमा अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

शेर्पाले भक्तपुरको दधिकोटमा रहेको २९ रोपनी चार आना जग्गा आफ्नो स्वामित्वको कम्पनीमा बेचेको अनुसन्धानका क्रममा पाइएको उल्लेख छ ।