जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा राष्ट्रिय विचार गोष्ठी हुँदै

काठमाण्डौ । जनताको बहुदलीय जनवादका प्रवर्तक तथा जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’ आयोजना हुने भएको छ।

मदन भण्डारी फाउण्डेशनको आयोजनामा हुने उक्त कार्यक्रम आगामी २०८३ साल असार १४ गते आइतबार दिउँसो १ः३० बजे काठमाण्डौको राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा आयोजना हुने भएको हो ।

कार्यक्रममा जननेता मदन भण्डारीको राजनीतिक योगदान, विचार तथा नेपालको कम्युनिष्ट आन्दोलनमा उहाँको भूमिकाबारे विचार–विमर्श गरिने आयोजकले जनाएको छ। साथै सोही अवसरमा मदन भण्डारी राष्ट्रिय पुरस्कार समेत हस्तान्तरण गरिनेछ।

कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता रहनेछ। विचार गोष्ठीमा अतिथि वक्ताका रूपमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल तथा जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

मदन भण्डारी फाउण्डेशनका कार्यवाहक सचिव डा.भेषराज अधिकारीका अनुसार जननेता मदन भण्डारीका विचार, योगदान र राजनीतिक दर्शनको अध्ययन तथा बहसलाई निरन्तरता दिने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।