शेयर बजार आज पनि घट्यो

काठमाण्डौ । शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ४५ अङ्कले घटेर २ हजार ६६० दशमलव ०२ विन्दुमा झरेको छ ।

नेप्से परिसूचक झन्डै ४ महिनायताकै कम विन्दुमा झरेको हो । यसअघि गएको फागुन १४ गते नेप्से २ हजार ६५४ विन्दुमा झरेको थियो ।

आज फाइनान्स र व्यापार बाहेक सबै समूहको सूचक घटेकोमा उत्पादन तथा प्रशोधन समूहको सूचक १ दशमलव १२ प्रतिशतले ओरालो लागेको छ ।

आज २०० वटा कम्पनीको शेयर घटेकोमा ६४ वटाको बढेको छ । यस्तै १० वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज सोपान फर्मास्युटिकल्सको शेयर ५ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बलिङ हाइड्रोपवारको शेयर १५ प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ३३८ वटा कम्पनीका १ करोड ७ लाख कित्ता शेयर ४ अर्ब ४१ करोड रुपैयाँमा किनबेच भएको छ ।