रास्वपा केन्द्रीय सदस्यका लागि बेलुकी साढे ८ बजेपछि मतदान हुने
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत पहिलो चरणमा आज केन्द्रीय सदस्यका लागि मतदान हुँदैछ । मतदान बेलुकी साढे ८ बजेपछि सुरू गर्ने तयारी छ ।
चितवनको भरतपुरमा चलिरहेको महाधिवेशनमा ९९ केन्द्रीय सदस्यका लागि यसअघि ३८४ जना उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक भएको छ । महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार दाबी विरोध र उम्मेदवारी फिर्ता लिन चाहनेले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि अन्तिम सूची प्रकाशित हुनेछ ।
मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेशिन तयारी अवस्थामा रहेको पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो । विदेशमा रहेका प्रतिनिधिले मोबाइलमार्फत मतदान गर्नेछन् ।
महाधिवेशनमा प्रतिनिधि ४ हजार जनाभन्दा धेरै छन् । पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध हुनुभएको छ । आजै राति अबेरसम्म केन्द्रीय सदस्यका लागि पहिलो चरणको चुनाव सम्पन्न गरेर दोस्रो चरणमा भोलि बिहान पदाधिकारीको चुनाव गर्ने तयारी गरेको महामन्त्री बुर्लाकोटीले जानकारी दिनुभयो ।
दोस्रो चरणमा २ उपसभापति, १ महामन्त्री र ३ सहमहामन्त्री गरी ६ जनाको चुनाव हुनेछ ।

