मदन भण्डारी कलेजमा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
सुप्रिया राई, असार १०, काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजले २५औँ वार्षिकोत्सवको अवसरमा आज निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कलेजअन्तर्गतको सामाजिक कल्याण उपसमितिको संयोजनमा आज बुधबार कलेज परिसरमा कार्यक्रमहरु आयोजना गरिएको हो ।
समुदायको आवश्यकतालाई मध्यनजर गर्दै उनीहरुको आवश्यक स्वास्थ्य सुविधा तथा आफ्नो संस्थागत उत्तरदायित्व अन्तर्गत यी कार्यक्रमहरु आयोजना गरिएको कलेज प्रमुख डा. बाबुराम अधिकारीले बताउनुभयो । कलेजको वार्षिक क्यालेन्डरमै पनि यस्ता विविध गतिविधीहरु समावेश गरिएको हुनाले २५औँ वार्षिकोत्सव कार्यक्रम भव्यताकासाथ मनाइरहेको उहाँको भनाइ छ ।
आज रक्तदान, आँखा परिक्षण, दन्त परिक्षण, सामान्य स्वास्थ्य परीक्षण र मुटुरोग परीक्षणलगायतका कार्यक्रमहरु सञ्चालन गरिएको थियो ।

विद्यार्थी, शिक्षक, कलेजका अन्य सदस्य, अभिभावक तथा जनसमुदायका विभिन्न व्यक्तिहरुले भौतिकरुपमै उपस्थिती जनाएर आवश्यक परामर्श र अन्य जाँच सेवाहरु लिएका छन् । शिविरमा समुदायस्तरबाट उल्लेख्यरुपमा सहभागीता रहेको थियो ।
शिविरमा ३०० जनाले आँखा, दन्त तथा सामान्य स्वास्थ्य परीक्षण र १२७ जनाले मुटुरोग परिक्षण गराएका थिए । ५० जनाले स्वतस्फूर्त रुपमा रक्तदान पनि गरेका थिए ।
त्यस्तै, रक्तदान ब्लड डोनर्स एशोसियसन नेपाल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा, दन्त परीक्षण समाज डेन्टल अस्पतालको सहकार्यमा, स्वास्थ्य परीक्षण र मधुमेह परीक्षण भेनस हस्पिटलको सहकार्यमा, मुटु परीक्षण नेपाल हृदय रोग निवारण प्रतिष्ठान, काठमाण्डौ शाखा र आँखा परीक्षण किष्ट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलको सहकार्यमा आयोजित थियो ।

आज नै कलेजका विद्यार्थीहरुको सहभागीतामा चित्रकला प्रतियोगीतासमेत भएको थियो ।
मदन भण्डारी मेमोरियल कलेजले असार ८ गते देखि असार १४ गतेसम्म २५औँ वार्षिकोत्सवको अवसरमा साताव्यापी विभिन्न कार्यक्रमहरू मनाइरहेको छ । असार ११ गते बिहीबार पूर्व विद्यार्थी भेटघाट र दिक्षान्त समारोह कार्यक्रम सञ्चालन गरिनेछ ।

