आज २६औं भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाण्डौ । आज (मंगलबार) २६औं भूकम्प सुरक्षा दिवस मनाइँदैछ । यस वर्ष ‘स्थानीय स्रोत र प्रविधिको प्रयोग गरौ, भकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नाराका साथ भूकम्प सुरक्षा दिवस मनाउन लागिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

काठमाण्डौसहित देशका विभिन्न स्थानमा सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सचेतना अभिवृद्धि गर्न सरकार, सरोकारवाला निकाय र विभिन्न संघसंस्थाले दिवसलाई जागरण फैलाउने दिनको रुपमा मनाउँदै आएका छन् ।

विक्रम संवद् १९९० सालको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । २६औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको हालैको बैठकले प्रदेशस्तर र पालिकास्तरमा विभिन्न कार्यक्रमहरु सहित भूकम्प सुरक्षा दिवस मनाउने घोषणा गरेको छ ।