आ.व. २०८३/८४ का लागि काठमाण्डौ महानगरको बजेट २५ अर्ब ८८ करोड
काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि काठमाण्डौ महानगरपालिकाले २५ अर्ब ८८ करोड ३० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
आगामी आर्थिक वर्षको लागि सञ्चित कोषमा २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ जम्मा हुने अनुमान महानगरले गरेको छ । जसमा महानगरको आन्तरिक आय र बैंक मौज्दात गरी २० अर्ब १८ करोड ६३ लाख २९ हजारको स्रोत व्यवस्थापन अनुमान गरिएको छ ।
संघ र प्रदेश सरकारबाट चार अर्ब ९३ करोड ६७ लाख ३६ हजार स्रोत अनुमान गरिएको छ । यस्तै, जनसहभागिताबापत एक करोडको स्रोत अनुमान गरिएको छ ।
महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नगरसभामा बजेट प्रस्तुत गर्दै पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सुशासनलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।
प्रस्तावित बजेटमध्ये सबैभन्दा ठूलो हिस्सा ६१ प्रतिशत अर्थात् करिब १५ अर्ब ३१ करोड रुपैयाँ पूर्वाधार विकास क्षेत्रमा विनियोजन गरिएको छ । सामाजिक विकासका लागि ९.६ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ८.५ प्रतिशत र प्रशासनिक खर्चका लागि १८.८ प्रतिशत बजेट छुट्याइएको छ ।
महानगरले फोहोर व्यवस्थापन, विद्यालय शिक्षा सुधार, युवा स्वरोजगार कार्यक्रम, सार्वजनिक यातायात व्यवस्थापन, सम्पदा संरक्षण, निःशुल्क एम्बुलेन्स सेवा, वाटर एटीएम, सार्वजनिक शौचालय तथा वातावरण संरक्षणका कार्यक्रमलाई समेत प्राथमिकतामा राखेको छ ।
राजस्व संकलन बढाउन करदातालाई प्रोत्साहन दिने तथा केही कर तथा शुल्कमा छुट दिने व्यवस्था पनि बजेटमा समेटिएको छ । महानगरले प्रस्तुत बजेटले काठमाडौंलाई स्वच्छ, हरित, सुरक्षित र व्यवस्थित सहर बनाउने लक्ष्यलाई टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।

