मनसुनजन्य विपद् व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री गुरुङ

काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद् व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तयारी गरिरहेको बताउनुभएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी बैठकमा सहभागीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बाढी, पहिरो लगायतका प्राकृतिक विपद्का घटनामा नागरिकको सुरक्षा सुनिश्चित गर्न हेलिकप्टरदेखि सुरक्षा निकायका सबै स्रोतसाधन परिचालन गर्ने जानकारी दिनुभयो ।

विपद् व्यवस्थापनका लागि सुरक्षा निकायहरू परिचालन गरिसकिएको उहाँको भनाइ छ । उहाँले औपचारिक निरीक्षणभन्दा पनि नागरिकको प्रत्यक्ष सुरक्षा र उद्धार कार्यलाई केन्द्रमा राखेर काम गर्ने बताउनुभयो । उहाँले सम्भावित सङ्कटको अवस्थामा छिटो काम गर्नेगरी संयन्त्र निर्माण गरिएको पनि जानकारी दिनुभयो । विपद् व्यवस्थापनका लागि अघिल्ला सरकारले गरेका सकारात्मक कामलाई निरन्तरता दिँदै कमजोरी सुधार गरेर अघि बढ्ने नीति लिएको उहाँको भनाइ छ ।

मनसुनका बेला पूर्वपश्चिम राजमार्ग लगायत निर्माणाधीन सडक खण्डहरूमा बाढी र पहिरोका कारण यातायात अवरुद्ध हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय गरिरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँकाअनुसार सडक अवरोध हटाउन आवश्यक डोजर तथा उपकरण कहाँकहाँ उपलब्ध छन् भन्ने जानकारी दिने विशेष डिजिटल प्रणाली ९एप० विकास गरिएको र उक्त प्रणालीमार्फत कुनै स्थानमा पहिरो वा सडक अवरोध भएमा नजिकको उपकरण तत्काल परिचालन गरेर सडक खुलाउने व्यवस्था मिलाइएको छ ।

यसले विगतमा जस्तो यात्रुहरू लामो समयसम्म सडकमा अलपत्र पर्ने अवस्था नहुने उहाँको भनाइ छ । गृहमन्त्री गुरुङले विगतमा प्राकृतिक विपद्ले नागरिकलाई पुर्‍याएको क्षतिको अनुभवका आधारमा यसपटक अझ प्रभावकारी रूपमा काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

गृहमन्त्री गुरुङले प्रहरी तथा अन्य सुरक्षा निकायलाई नागरिकमैत्री सेवा दिन निर्देशन दिएको जानकारी दिनुभयो । अपराध नियन्त्रण, सुशासन प्रवर्द्घन र सेवाको गुणस्तर सुधारमा कुनै सम्झौता नगर्ने उहाँको भनाइ छ ।