रास्वपाको वरिष्ठ नेतामा निर्वाचन नहुने, प्रधानमन्त्री बालेनलाई सर्वसम्मत गरिने

काठमाण्डौ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ नेतामा निर्वाचन नहुने भएको छ । आगामी प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सर्वसम्मत गरिने निर्णय रास्वपा सचिवालय बैठकले गरेको हो ।

रास्वपाका एक नेताले वरिष्ठ नेतामा निर्वाचन नभइ स्वतः सर्वसम्मत हुने जानकारी दिनुभयो ।

आज बिहीबार बसेको सचिवालय बैठकले महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन प्रस्तावमा ‘वरिष्ठ नेता’ थप्ने निर्णय गरेको हो ।

चुनावअघि रास्वपामा बालेन समूह रास्वपामा समाहित भएपछि वरिष्ठ नेताको पद खडा गरी सभापति रवि लामिछानेपछिको वरीयतामा बालेनलाई राखिएको थियो ।

महाधिवेशनपछि सचिवालय सदस्य संख्या ३३ बनाइने निर्णय पनि गरिएको छ । रास्वपामा २५ सदस्यीय सचिवालय छ ।

सभापतिले मनोनित गर्ने केन्द्रीय सदस्य संख्या ५१, केन्द्रीय पदाधिकारी १३ बाट १९ र केन्द्रीय समितिको संख्या १२९ बाट ९सात प्रदेशसहित० १५८ पुर्‍याइने छ ।