अनुसन्धान र नवप्रवर्तनका कार्यलाई व्यावहारिक प्रयोगमा ल्याइनेछ : नवप्रवर्तनमन्त्री पुन
काठमाण्डौ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले वर्तमान सरकारको मुख्य उद्देश्य सूचना प्रविधि क्षेत्रको तीव्र विकास र बढीभन्दा बढी उपयोग गर्नु रहेको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री पुनले कृत्रिम बौद्धिकता र सूचना प्रविधिको विकासमा जोड दिएर त्यसलाई व्यावहारिक प्रयोगमा ल्याउन प्रधानमन्त्री बालेन्द्र साहले विशेष चासो दिनुभएको उल्लेख गर्नुभयो ।
अनुसन्धान, रिसर्च र नवप्रवर्तनका कार्य कागजमा लेखेर शोधपत्र प्रकाशन गर्ने विषय मात्रै नभएकाले सरकारले यसको व्यावहारिक उपयोगमा जोड दिने नीति लिएको उहाँले स्पष्ट पार्नुभयो ।
यसै गरी मन्त्री पुनले सांसदको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सुरुमा गाउँप्रतिको सेवाभाव, पछि जिल्ला हुँदै देशप्रतिको प्रेममा परिणत भएर आफू सांसद र मन्त्री बनेको बताउनुभयो ।

