कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई जेठ २९ गते भित्रमा स्वदेश फर्कन अनुरोध
काठमाण्डौ । थाइल्याण्डका लागि नेपाली दूतावासले विभिन्न प्रलोभनमा परी कानुनी आधारबिना कम्बोडियामा लुकिछिपी बस्ने नेपाली नागरिकलाई यही जेठ २९ गते भित्रमा नेपाल फर्किन अनुरोध गरेको छ ।
दूतावासले सूचना निकालेर विभिन्न प्रलोभनमा परी कानुनी आधार बिना कम्बोडियामा लुकिछिपी बस्ने नेपाली नागरिकले कम्बोडियाको नयाँ कानुनी व्यवस्थाअनुसार तत्काल पक्राउ परी कठिन कानुनी सजाय व्यहोर्नुपर्ने अवस्था रहेको भन्दै यस्तो आग्रह गरेको हो ।
दूतावासका अनुसार विभिन्न उद्देश्यले कम्बोडिया पुगी आफ्नो भिसाको अवधि समाप्त भएपछि पनि भिसा नवीकरण नगरी बसिरहेका ६ सय २ जना नेपाली नागरिकका लागि कम्बोडिया सरकारबाट भिसा शुल्क तथा जरिवाना रकम मिनाहा गराई नेपाल फर्कन सहजीकरण गरिएको थियो ।
तर इमेल, फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्दा ती नेपाली नागरिकले नेपाल फर्किन तदारुकता नदेखाएको पाइएको दूतावासले जनाएको छ ।
तोकिएका समयमा आफ्नो देश नफर्कने विदेशी नागरिकउपर कम्बोडिया सरकारले त्यहाँको नयाँ कानुनअनुसार अनुसन्धान गरी कसुरको प्रकृतिअनुसार पाँच लाख अमेरिकी डलरसम्मको जरिवानाका साथै आजीवन काराबाससम्मको सजाय हुने व्यवस्था गरेको पनि दूतावासले जनाएको छ ।

