इजरायलले थप आक्रमण गरे बाब अल–मन्दाब जलडमरूमार्ग बन्द गर्ने इरानको चेतावनी

एजेन्सी । इरानका सर्वोच्च नेताका एक वरिष्ठ सल्लाहकारले इजरायलले आक्रमण थप तीव्र बनाएमा मध्यपूर्वको अर्को महत्त्वपूर्ण समुद्री मार्ग बन्द गरिदिने चेतावनी दिएका छन् ।

यो जानकारी आइतबार इरानको सरकारी सञ्चारमाध्यमले दिएको हो । अमेरिकी समाचार संस्था सीएनएनका अनुसार अली बेलायतीले इजरायलले तेहरानबाट प्रहार गरिएको दाबी गरिएका क्षेप्यास्त्रहरूको श्रृंखलापश्चात शक्तिशाली जवाफी कारबाही गर्ने धम्की दिएपछि इरानले बाब अल–मन्दाब जलडमरूमार्ग बन्द गर्न सक्ने चेतावनी दिएका हुन् ।

अप्रिलको सुरुवातपछि यस्तो प्रकारको आक्रमण पहिलोपटक भएको बताइएको छ । यमन र जिबुटी तथा इरिट्रियाको बीचमा अवस्थित बाब अल–मन्दाब जलडमरूमार्ग युरोप, एसिया र अरब विश्वबीचका प्रमुख व्यापारिक मार्गहरूलाई जोड्ने अत्यन्त महत्त्वपूर्ण समुद्री मार्ग हो ।

यमनस्थित आफ्नो क्षेत्रीय सहयोगी हुथी विद्रोही समूहलाई सक्रिय बनाएर इरानले बाब अल–मन्दाब जलडमरूमार्ग बन्द गराउने प्रयास गर्न सक्छ । यस्तो कदमले विश्वव्यापी आर्थिक दबाबलाई अझ बढाउन सक्ने विश्लेषण गरिएको छ ।