प्रधानमन्त्री कप क्रिकेटको आज भएको खेलमा एपीएफ क्लब र कर्णाली प्रदेश विजयी

काठमाण्डौ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र कर्णाली प्रदेश विजयी भएका छन् ।
आज (आइतबार) कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एफीएफले बाग्मती प्रदेशलाई ८९ रनले हराएको हो ।

एफीएफले दिएको २ सय ४२ रनको लक्ष्य पछ्याएको बाग्मती ४२ ओभर ५ बलमा १ सय ५२ रनमा अल आउट भयो । टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४१ रन बनायो ।

यस्तै, आजै भैरहवाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले हराएको हो । गण्डकीले दिएको १ सय २३ रनको लक्ष्य कर्णालीले ३३ ओभर २ बलमा ३ विकेट गुमाएर भेटायो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाएर १ सय २२ रन बनाउन सक्यो ।

यो प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय गरी १० टोली सहभागी छन् । प्रतियोगिता ‘राउन्ड रोबिन’ लिगको आधारमा हुनेछ । हरेक टोलीले एकअर्कासँग खेलेपछि शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन् । यस पटकदेखि शीर्ष ४ टोलीले ‘इलिट ट्रफी’ पनि खेल्न पाउने भएका छन् ।