हुम्लाका सातवटा स्थानीय तहका विद्यालयमा एक महिने हिउँदे बिदा

काठमाण्डौ । चिसो बढेपछि हुम्लाका विद्यालयहरुमा हिउँदे बिदा गरिएको छ । हुम्लाका सातवटा स्थानीय तहभित्रका विद्यालयले वार्षिक परीक्षा सकेर बिदा दिएको हो ।

आगामी फागुन २ गतेदेखि सञ्चालन गर्नेगरि विद्यालय बन्द गरिएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । हिउँदयाममा अत्याधिक जाडो हुने भएकाले हिमाली जिल्लाका विद्यालयहरुमा वार्षिक परीक्षा सकेर पुस–माघमा बिदा दिने गरिन्छ । तर यस वर्ष ढिलागरी शैक्षिकसत्र सुरु भएकाले एक महिनामात्रै बिदा दिइएको जनाइएको छ ।

जिल्लाभरिका एक सय ५१ वटा विद्यालयहरुमा पठनपाठन बन्द भएको छ । हुम्लामा एक सय ४६ सामुदायिक, एउटा धार्मिक र चार संस्थागत विद्यालयहरु छन् । जिल्लामा यस वर्ष अत्यधिक जाडो बढे पनि हिमपात भने अझै भएको छैन ।