माघे सङ्क्रान्तिका लागि नारायणगढ–मुग्लिन र बुटवल–पाल्पा सडक आज र भोलि २४सै घण्टा खुला

काठमाण्डौ । माघे सङ्क्रान्तिका लागि नारायणगढ–मुग्लिन र बुटवल–पाल्पा सडक आज (आइतबार) र भोलि (सोमबार) बन्द नहुने भएको छ । भोलि माघे सङ्क्रान्ति परेकाले आज र भोलि २४सै घण्टा सडक खुला गरिएको हो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार यसअघि आयोजनाले माघे सङ्क्रान्ति पर्वको अवसरमा प्रसिद्ध धार्मिकस्थल देवघाटमा नुहाउन, दर्शन गर्न आउने भक्तजनहरुको सुविधाका लागि एक दिन सडक बन्द नगर्ने निर्णय गरेकोमा त्यसलाई परिमार्जन गरी आज पनि सडक खुला गरिएको हो ।

पर्सिदेखि माघ २० गतेसम्म दैनिक ४ घण्टा सडक बन्द हुनेछ । गएको पुस ७ गतेदेखि दैनिक ४ घण्टा सडक बन्द गरी काम थालिएकोमा थप तीन हप्ता बन्द गर्ने निर्णय भएको हो ।

यस्तै, सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–पाल्पा सडक खण्ड पनि आज र भोलि दुई दिन बन्द नहुने भएको छ । पुस १६ गतेदेखि राति दैनिक ६ घण्टा बन्द भएको सडक आज र भोलि माघे सङ्क्रान्तिको अवसरमा बन्द नगर्ने निर्णय भएको पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले जानकारी दिनुभयो । यो सडकमा राती १० बजेदेखि बिहान ४ बजेसम्म अत्यावश्यक बाहेकका गाडी रोकेर सुरुङ निर्माणको काम हुँदै आएको छ ।

गएको १६ गतेदेखि एक सय दिनसम्मका लागि राती ६ घण्टा सडक बन्द गरिएको हो । तल्लो सिद्धबाबादेखि पाल्पाको दोभान चौकीसम्मको झण्डै ३ किलोमिटर सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त भएकाले सुरुङमार्ग बनाउने काम भइरहेको छ ।