देशको विकास र प्रगतिका निम्ति खेलकुद क्षेत्र महत्वपूर्ण छ : प्रधानमन्त्री दाहाल

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले खेल क्षेत्रको विकासलाई राष्ट्रको बहुआयामिक वृहत्तर हितको मुद्दाको रुपमा अघि बढाउनुपर्ने बताउनुभएको छ ।

आज (शुक्रबार) काठमाण्डौमा नेपाल वादोरियो कराते संघको आयोजनामा भएको चौथो राष्ट्रिय वादोकाइ कराते प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले खेल क्षेत्रको विकास केवल युवाहरुको मात्रै मुद्दा मात्रै नभइ राष्ट्रको बहुआयामिक वृहत्तर हितको मुद्दाको रुपमा हेर्न र बुझ्न सक्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले विश्व राजनीति, अर्थतन्त्र, पर्यटनको विकास र अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले समेत खेलकुद क्षेत्र र खेलाडीहरुले राष्ट्रिय पुलको काम गर्नसक्ने बताउनुभयो । उहाँले नेपाल जस्तो विकासोन्मुख देशका लागि खेलकुद अर्थतन्त्रको महत्वपूर्ण र अन्तर्राष्ट्रिय कुटनीतिमा महत्वपूर्ण सावित हुने बताउनुभयो । उहाँले खेल क्षेत्र शारीरिक र मानसिक क्रियाकलापमा मात्रै सिमित नरहेको भन्दै आजको संसारमा खेलकुदको महत्व बहुआयामिक रहेको जिकिर गर्नुभयो ।

प्रधानमन्त्री दाहालले मुलपानी मैदान तल्लो, मोरङको वैदनाथपुरमा निर्माणाधिन गिरिजाप्रसाद कोईराला क्रिकेट रंगशाला र चितवनको भरतपुरमार रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा समावेश गरिसकेकाले अब द्रुत गतिमा काम अघि बढ्ने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले देशको विकास र प्रगतिका निम्ति प्रशस्त सम्भावनामध्ये खेलकुद क्षेत्र महत्वपूर्ण रहेको बताउनुभयो । प्रधानमन्त्रीको आफ्नो तेस्रो कार्यकालमा खेलाडीहरुको वृत्ति विकास र प्रोत्सहनलाई केन्द्रमा राखेर काम गर्दै आएको दाबी गर्नुभयो ।