विद्यालयले आधारभुत तहदेखि नै नैतिक शिक्षा पढाउनुपर्नेमा सांसदहरुको एक मत

काठमाण्डौ । सांसदहरुले विद्यालयको आधारभुत तहदेखि नै नैतिक शिक्षाको अध्यापन गराउनुपर्नेमा जोड दिएका छन् ।

आज (बिहीबार) प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिको बैठकमा बोल्दै सांसदहरुले विद्यालयले आधारभुत तहदेखि नै नैतिक शिक्षा पढाउनुपर्ने बताउनुभएको हो । उहाँहरुले अहिलेको समयमा नैतिक शिक्षा पढाउनु अत्यावश्यक भइसकेको भन्दै नैतिक शिक्षालाई पाठ्यक्रममा समावेश गराउनुपर्ने बताउनुभयो ।

बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद डा. तोसिमा कार्कीले अहिले नैतिक शिक्षा तथा व्यवहारिक शिक्षाको महत्व खड्किएको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई नैतिक तथा व्यवहारिक शिक्षा दिनुपर्ने बताउनुभयो । त्यस्तै, पोषणका कुराहरु र स्वस्थ जीवनशैलीका कुराहरु पनि विद्यालय तहबाट नै अध्यापन गराउनुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीहलाई मौलिक हक, अधिकार, प्राकृतिक प्रकोप प्रतिकार्य लगायतका कुराहरुको पनि ज्ञान दिनुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले विद्यार्थीहरुलाई प्रविधिको विकास र सुविधा अनुसारको पाठ्यक्रम बनाएर शिक्षा दिनुपर्ने बताउनुभयो । उहाँले व्यवहारिक ज्ञान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले जंकफुडको प्रयोगका कारण बालबालिकाको स्वास्थ्यमा गम्भिर असर पुगिरहेको भन्दै यस सम्बन्धमा सचेतना दिने हिसाबले सानैदेखि सिकाउनुपर्ने बताउनुभयो ।

त्यसैगरी, बैठकमा बोल्दै नेकपा(एमाले)की सांसद सरिता भुसालले विद्यार्थीहरुलाई देशभक्तिका कुराहरु पढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले देशभक्तिको कुराहरु पढाएमा विद्यार्थीहरु विदेशिनबाट रोकिने बताउनुभयो । उहाँले बालबालिकालाई संस्कारयुक्त शिक्षा दिनुपर्ने बताउनुभयो । संस्कारविहिन शिक्षा मेसिनरी शिक्षा हुने भन्दै यस्तो शिक्षा पाएकाहरुले देश र अभिभावकहरुलाई माया गर्न नसक्ने बताउनुभयो ।

त्यस्तै, नेकपा(एमाले)का सांसद डा. कालुराम राईले पनि पाठ्यक्रममा नैतिक शिक्षा जरुरी रहेको धारणा राख्नुभयो । उहाँले संविधानले परिभाषित गरेको बहुजातिय, बहुभाषिक र बहुसांस्कृतिक देश अनुरुपको नैतिक शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।

सांसद राईले स्वस्थ जिवनशैली, ट्राफिक सचेतना लगायतका विषयमा पनि पाठ्यक्रममा समावेश गरेर शिक्षा दिनुपर्ने बताउनुभयो ।