सरकारले भारतसँग गरेकाे सम्झौता राष्ट्रघात हो : महेश बर्तौला

काठमाडौं । एमालेका सचेतक महेश बर्तौलाले सरकारले भारतसँग गरेको सम्झौता राष्ट्रघात भएको आरोप लगाएका छन् ।

बुधबार कानून समितिको बैठकमा बोल्दै बर्तौलाले भारतीय दूतावासलाई नेपालमा २० करोड रूपैयाँसम्मका आयोजनामा सिधै खर्च गर्न दिने गरी भएको सम्झौतामा राष्ट्रघात गरेको बताएका हुन् ।

सचेतक बर्तौलाले सरकारले गरेको सम्झौता सदनलाई जानकारी गराउन माग गरे । उनले यो सम्झौता संविधानविपरीत भएकाले राष्ट्रहित प्रतिकूलको आचरण गर्ने कुरा दण्डनीय रहेको बताए ।

‘नेपालको संविधानको धारा ५ बमोजिम अहिलेको सम्झौता हो ? नेपालको स्वाधीनता, सार्वभौम सत्ता, राष्ट्रिय स्वतन्त्रतालाई जोगाउने गरी यो सम्झौता भएको छ ? यो कुरा तपाईं भन्न सक्नुहुन्छ ?’, सचेतक बर्ताैलाले भने ।

‘तपाईं यो सम्झौताप्रति गर्व गर्दै हुनुहुन्छ । तर, यो सम्झौताले देशको राष्ट्रघातको जरा काट्ने काम भएको छ ।’ उनले थपे

‘सरकारले नेपालको चार किल्लाभित्र एक रुपैयाँ खर्च गर्न पनि संसदको अनुमति चाहिन्छ। संसदले अनुमति नदिएसम्म खर्च गर्न सक्दैन। तर, एउटा देशले आफूले चाहेको योजनामा गर्न मिल्दैन। त्यो स्वीर्कान सक्दैन । राष्ट्रघात हो ’,उनले भने ।