प्रदेश सरकारले एक वडा एक कृषि उत्पादन कार्यक्रम सञ्चालनमा ल्याउने
काठमाण्डौ । बागमती प्रदेश सरकारले एक वडा एक कृषि, पशुपन्छी तथा मत्स्यजन्य उत्पादन कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । चालु आर्थिक वर्षमा कृषिलाई प्राथमिकता दिएको प्रदेश सरकारले उक्त कार्यक्रम सञ्चालनमा ल्याउन कार्यविधि बनाएसँगै कार्यक्रम कार्यान्वयनमा आउने भएको हो ।
बागमती प्रदेशको आज (आइतबार) मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले एक वडा एक कृषि, पशुपन्छी तथा मत्स्यजन्य उत्पादन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको हो ।
यसअघि आज नै मुख्यमन्त्री शालिकराम जम्कट्टेल कार्यक्रमका बारे प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पुगेर कार्यक्रमको बारेमा छलफल गर्नुभएको थियो । मन्त्रिपरिषद् बैठकले एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन दोश्रो संशोधन कार्यविधि २०८० स्वीकृत गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले बैठकले गर्भवती तथा सुत्केरी अवस्थाका ज्यान जोखिममा परेका महिलाको निःशुल्क हवाई उद्धार सेवासम्बन्धी कार्यविधि २०८० समेत स्वीकृत गरेको बताउनुभयो ।
उहाँका अनुसार एक विद्यालय एक नर्स कार्यक्रम छैटौँ वर्षमा चलिरहेको र गर्भवती तथा सुत्केरी अवस्थाका ज्यान जोखिममा परेका महिलाको निःशुल्क हवाई उद्दार सेवा सम्बन्धी चालु आर्थिक वर्षबाट सुरु गर्न लागेको हो । मन्त्रिपरिषद् बैठकले कारागार र प्रहरी कार्यालयको भौतिक संरचनाको संरचनात्मक सुधारको खर्च अख्तियार प्रदान गर्न अख्तियारी दिने निर्णय गरेको छ ।