अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पद्वारा चुनावी परिणामलाई उल्टाउने षड्यन्त्र नगरेको दाबी
एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को चुनावी परिणामलाई उल्टाउने षड्यन्त्र नगरेको जिकिर गरेका छन् ।
अमेरिकाको राजधानी वाशिङ्टन डिसी जिल्ला अदालतमा हिजो (बिहीबार) हाजिर भएका ट्रम्पले आफुविरुद्ध लगाईएका पछिल्ला चारवटा आरोप अस्विकार गरेका हुन् ।
अभियोग रुजु गर्न जिल्ला न्यायाधिश समक्ष हाजिर भएका ट्रम्पले मुद्दामा आफ्नो विवरण रुजु गरिसकेपछि आरोपहरु अस्विकार गरे । सन् २०२० को चुनाव र अमेरिकी संसद भवनमा गरिएको आक्रमणसँग जोडिएको यो मुद्दा विपक्षी दलको राजनीतिक अभिष्ठबाट प्रेरित भएको ट्रम्पको आरोप छ ।
विगत चार महिनामा पूर्व राष्ट्रपति ट्रम्पको आपराधिक प्रतिवादीको रूपमा अदालतमा यो तेस्रो उपस्थिति हो । अमेरिकी कंग्रेसको झडपमा भाग लिएको आरोपमा करिब एक हजार जना प्रतिवादीहरू सोही अदालत भवनमा उपस्थित भएका छन् ।
पूर्व राष्ट्रपति ट्रम्प सुनुवाईमा भाग लिन आफ्नो निजी विमान ‘ट्रम्प फोर्स वान’ चढेर न्यू जर्सी निवासबाट वाशिंगटन डीसी पुग्नुभएको थियो ।