कोरियाको शिप बिल्डिङमा सहभागी साढे २० हजारले ‘मेन्युफ्याक्चरिङ’को आवेदन भरे
काठमाण्डौ । कोरियाको ‘शिप बिल्डिङ सेक्टर’तर्फ आवेदन दिएका २० हजार बढीले ‘मेन्युफ्याक्चरिङ सेक्टर’मा पनि आवेदन भरेका छन् ।
आवेदन दिने अन्तिम दिन आज (शुक्रबार) ५ बजेसम्म ‘शिप बिल्डिङ सेक्टर’तर्फ परीक्षा दिएका २० हजार ५०० जनाले ‘मेन्युफ्याक्चरिङ सेक्टर’मा पनि आवेदन भरेका हुन् ।
ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाले गत पुस १५ गतेदेखि यसअघि ‘शिप बिल्डिङ सेक्टर’तर्फ परीक्षा दिइसकेकालाई पनि ‘मेन्युफ्याक्चरिङ सेक्टर’ तर्फ पनि आवेदन भर्न दिएको थियो । शाखाले आवेदन भर्न सुरुमा पुस १८ गतेसम्म दिएको म्याद आजसम्मलाई थप गरेको थियो ।
योसगैं कोरिया भाषा परीक्षामा सहभागी संख्या करिब १ लाख ६५ हजार जना पुगेको छ । गत असारमा कोरिया जान खुलेको ‘शिप बिल्डिङ सेक्टर’ मा ३५ हजार ४६७ जनाले आवेदन दिएका थिए । जसमा करिब १२ हजारमात्रै पास भएका थिए । त्यसमध्ये पनि ४ हजार ९८ मात्रै ‘शिप बिल्डिङ सेक्टर’ का लागि छनोट भएका थिए ।
तर, ईपीएस विवादले उग्र रुप लिएपछि उच्च अदालत पाटनले ‘शिप बिल्डिङ’ मा आवेदन दिएकालाई पनि सन् २०२३ को अन्तिमतिर खुलेको ‘मेन्युफ्याक्चरिङ’ तर्फ आवेदन भर्न दिन आदेश दिएको थियो । सोही आदेशपछि शाखाले आवेदन स्वीकार गरेको थियो । ईपीएस कोरिया शाखाले आज राति १२ बजेसम्म अन्तिम आवेदनको समय तोकेको छ ।