राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै देशको समृद्धि निर्भर हुन्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै देशको एकता, स्वाधिनता र समृद्धि निर्भर हुने बताउनुभएको छ ।
आज (आइतबार) काठमाडौंको टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्सव–२०८० लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रियताको संवद्र्धन र समुदायको पहिचानमा नै देशको एकता, स्वाधिनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहने बताउनुभएको हो ।
उहाँले नेपालका मौलिक चाडपर्वले नेपालीका बीचमा सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउने बताउनुभयो । उहाँले देशको विशेषता र मौलिकताले संघीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले ल्होसार लगायत सबै सांस्कृतिक पर्वलाई राष्ट्रिय संस्कृतिको रुपमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विभिन्न जाति एवम् समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, भेषभुषा र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय एकतासहितको समृद्धिको लक्ष्य प्राप्त गर्नु राष्ट्रिय कार्यभार भएको बताउनुभयो । उहाँले नेपाल पूर्व, पश्चिम, उत्तर र दक्षिणको प्रमुख सभ्यताहरुको संगमस्थल भएको उल्लेख गर्नुभयो । उहाँले टुँडिखेलमा तमू ल्होसार मनाएकालाई साँझमा कुनै अवरोध नगर्न सुरक्षा निकायलाई निर्देशन समेत गर्नुभयो । उहाँले कार्यक्रमलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।