कोभिड–१९ विरुद्धको खोप लगाउन खोप अभियान सञ्चालन गर्ने : कामपा
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले कोभिड–१९ विरुद्धको खोप लगाउन छुटेकाहरुलाई खोप लगाउन खोप अभियान सञ्चालन गर्ने भएको छ ।
महानगरले आउने आइतवार (साउन २१ गते) देखि ९ वटा वडामा कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको हो । यस अभियानमा यसअघि कुनै पनि मात्रा नलगाएका र मात्रा पूरा गर्नेका लागि सञ्चालन गर्न लागिएको महानगरले जनाएको छ ।
कामपाका वडा नं ६, ११, १४, १७ र ३१, मा साउन २१ र २२ गते २ दिन कार्यक्रम चलाइनेछ । यसैगरी वडा नं १२, १५, १९ र ३२ वडामा साउन २३ र २४ गते दुई दिन कार्यक्रम चलाइने तयारी रहेको कामपा स्वास्थ्य विभाग प्रमुख रामप्रसाल पौडेलले जानकारी दिनुभयो ।
खोप कार्यक्रममा १२ वर्षमाथि उमेर समूहका व्यक्तिलाई समावेश गरिने प्रमुख पौडेलले बताउनुभयो ।
अहिलेसम्म ९० प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् भने दोस्रो मात्रा लगाउने ८८ प्रतिशत, तेस्रो मात्रा ४३ प्रतिशत र चौथो मात्रा लगाउने छ प्रतिशत रहेको खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो ।
उक्त कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि साउन १८ र १९ गते स्वास्थ्य स्वयंसेविका अभिमुखीकरण र २० गते शनिवार खोप सञ्चालन हुनेछ ।