सातै प्रदेशका मुख्यमन्त्रीहरूको संयुक्त बैठक आज हेटौँडामा

काठमाण्डौ ।  सातै प्रदेशका मुख्यमन्त्रीहरूको संयुक्त बैठक आज हेटौँडामा बस्दै छ ।

प्रदेश र स्थानीय सरकारको अधिकारका बाँडफाँडमा देखिएको समस्याबारे छलफल गर्न र संविधान कार्यान्वयनका लागि सुझाव दिन सातै प्रदेशका मुख्यमन्त्री आज हेटौँडामा भेला भएका हुन् ।

सातै प्रदेशका मुख्यमन्त्रीहरूको सहभागितामा तहगत अधिकारको कार्यविस्तृतिकरण सम्बन्धी संगोष्ठी आयोजना गरेको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

संगोष्ठीमा तीनै तहका सरकारको साझा अधिकारको विस्तृतीकरण र कानुन निर्माण प्रक्रिया, आर्थिक विकास क्षेत्र, सेवा क्षेत्र, पूर्वाधार क्षेत्र र वन वातावरण तथा विपत् व्यवस्थापन क्षेत्रको बारेमा कार्यपत्र प्रस्तुत हुनेछ ।

मुख्यमन्त्री कार्यालयका अनुसार छलफलपछि शुक्रवार साझा प्रतिवेदनसमेत अनुमोदन गर्ने कार्यक्रम रहेको छ । बिहीबार र शुक्रवार हुने कार्यक्रममा सातै प्रदेशका प्रमुख सचिव, मुख्य न्यायधिवक्ता, गाउँपालिका राष्ट्रिय महासंघ, नगरपालिका संघका पदाधिकारीको सहभागिता रहने छ ।