विश्व जलवायु क्षेत्रमा पर्वतीय क्षेत्रको मुद्दा उठ्नु सकारात्मक : विज्ञ उप्रेती

काठमाण्डौ । जलवायु विज्ञ डा.धर्मराज उप्रेतीले विश्व जलवायु क्षेत्रमा पर्वतीय क्षेत्रको मुद्दा उठ्नु सकारात्मक भएको बताउनुभएको छ ।

आज (बुधबार) विश्व जलवायु सम्मेलन (कोप– २८) को उपलब्धि र आगामी कार्यदिशाबारे गोष्ठीमा बोल्दै विज्ञ डा. उप्रेतीले कोप– २८ मा पहिलो हप्तामा अधिकांश सहमति जुट्न नसकेको भएपनि मन्त्रीस्तरीय बैठकबाट भने अधिकांश मुद्दाहरुमा सहमति भएको बताउनुभयो ।
पर्वतीय मुद्दा, हिमाल र हिउँ पग्लिने मुद्दाले विशेष स्थान पाउनु र यसबारेमा जिएस्टीको रिपोर्टमै उल्लेख भएर आउनुले पर्वतीय मुद्दाहरुको विषय पेचिलो बनेको उहाँले बताउनुभयो ।

डा. उप्रेतीले पर्वतीय मुद्दाले विशेष स्थान पाउनुमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र नेपालको तर्फबाट उठाइएको विषय प्रमुख कारण रहेको बताउनुभयो । उहाँले कोप–२८ मा २०१० मा भएको सम्झौताअनुसार विकासोन्मुख देशलाई सय बिलियन अमेरिकी डलर बराबरको रकम दिन नसकेकोमा दुःख व्यक्त गरेको कुरा महत्वपूर्ण रहेको पनि बताउनुभयो ।

उहाँले १५६ देशका राष्ट्रप्रमुख, सरकार प्रमुखहरु, ७६० मन्त्रीहरु, ५ सय मेयर, ५० हजार विद्यार्थी र २ सय देशका नेगोसिएटरको प्रतिनिधित्व गर्दै एक लाख जना सहभागी हुनुभएको ब्लु जोन र ५ लाख जना सहभागी हुनुभएको ग्रिन जोन कोप– २८ को महत्वपूर्ण विषय बनेको बताउनुभयो ।

विज्ञ उप्रेतीले विश्व जलवायुको आक्रान्तलाई सबैले स्वीकार गर्नु नै महत्वपूर्ण रहेको बताउनुभयो । साथै उहाँले जलवायु परिवर्तनले सबै क्षेत्रमा असर गरेको महशुस भएको बताउनुभयो ।