सिसिटिभी फुटेजको स्टोरेज २१ दिन मात्र हुनुमा बजेट अभाव भयो : उड्डयन कार्यालय
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सिसिटिभी फुटेजको स्टोरेज २१ दिन मात्र हुनुमा बजेट अभाव भएको जनाएको छ ।
तीन महिनासम्मको फुटेज सुरक्षित राख्नुपर्ने संवैधानिक व्यवस्था भएपनि विमानस्थल कार्यालयले भने २१ दिनको मात्रै राखेको थियो । मङ्सिर २१ गते दुबईबाट नेपाल तस्करी भएर आएको १४ किलो सुनको अध्ययन गर्ने क्रममा भन्सार कार्यालयमा २१ दिनको मात्रै सिसिटिभी फुटेज भेटिएको छानबिन समितिले जनाएको थियो ।
त्यसलगत्तै विभिन्न मिडियाहरूले समाचार प्रकाशन गरेका थिए । त्यसलगत्तै उड्डयन कार्यालयले विज्ञप्ति जारी गर्दै सिसिटिभी स्टोरेज तीन महिनाको बनाउन बजेट माग गरिएको तर तत्कालीन समयमा कोभिड १९ का कारण अन्य प्राथमिक क्षेत्रमा खर्च गर्नुपरेको र जसका कारण बजेट प्राप्त नभएको उल्लेख गरेका छन् ।
यद्यपि असोज २७, २०८० बाट भने विमानस्थलका विभिन्न क्षेत्रमा गरी जडित ५०० वटा सिसिटिभीको स्टोरेज तीन महिना बनाउन लागिएको र यसै वर्षभित्र त्यो सम्पन्न हुने महाप्रबन्धक तिवारीले उल्लेख गर्नु भएको छ ।