युवालाई रोजगारी दिएर स्वदेशमै रोक्नु जरुरी छ : राष्ट्रपति पौडेल

काठमाण्डौ ।  राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ सङ्ख्यामा विदेशिरहेका नेपालीहरुलाई रोक्न स्वदेशमै रोजगारी र सीपमूलक शिक्षा दिनुपर्ने बताउनुभएको छ । मङ्गलवार सरस्वती बहुमुखी क्याम्पसको ६५औं वार्षिकोत्सव समारोहमा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले कुनै पनि देशको शिक्षा त्यस देशको सामाजिक, आर्थिक अवस्था र देशको आवश्यकताअनुरुप निर्धारण हुनुपर्ने बताउनु भयो । उहाँले बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पुर्याउने र विश्व बजारमा पनि प्रतिष्पर्धी हुनसक्ने शिक्षा नीति र कार्यक्रम आजको आवश्यकता भएको बताउनु भयो ।

राष्ट्रपति पौडेलले लोकतन्त्रपछि देशको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बाबजुद यसको उपभोग गर्ने मानिसको अभाव हुनेगरी गाउँ रित्तो भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले गाउँ किन रित्तिँदै छ ? भन्नेबारेमा नीति निर्माण र शासन सत्तामा बस्नेहरुको चासो र चिन्ता हुनुपर्ने बताउनु भयो ।

राष्ट्रपति पौडेलले विश्व बजारमा प्रतिष्पर्धी हुनसक्ने शिक्षा नीति र कार्यक्रमका लागि सामूहिक प्रयत्नको जरुरी रहेको पनि बताउनु भयो ।