एकलौटी तवरबाट मन्त्रीमण्डल बिस्तार गरेकोप्रति ईत्तर पक्षका नेताहरूको असन्तुष्ट

काठमाण्डौ । लुम्बिनीमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेको प्रति कांग्रेसको सस्थापन ईत्तर लुम्बिनी प्रदेश कार्यसमितिले व्यापक असन्तुष्टि व्यक्त गरेको छ ।

मुख्य मन्त्री डिल्लीबहादुर चौधरीले पार्टीमा कुनै छलफल नगरी एकलौटी तवरबाट मन्त्रीमण्डल बिस्तार गरेको ईत्तर पक्षका नेताहरूको आरोप छ । उहाँले कांग्रेसबाट प्युठानका रोज राणा भनिने सरोज थापा र माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसीलाई शनिबार साँझ मन्त्री नियुक्त गरेपछि सस्थापन ईत्तर समूह रुष्ट बनेको हो ।

मुख्यमन्त्रीले पार्टीभित्रका समूह, भूगोल, सिनियारिटी र कार्यक्षमता नहेरी आफ्नो गुटका मान्छेलाई मन्त्री बनाएको प्रदेश सभापति पुनको भनाई छ । लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री विक्रम खनालले मुख्यमन्त्री पार्टीको प्रदेश समितिलाई बेवास्ता गरेर मनोमानी ढंगले एउटा गुटको ईसारामा मात्र अघि बढेको बताउनुभयो ।

गत बैशाख १४ गते एमाले र राप्रपा बाहेक ८ राजनीतिक दलको समर्थनमा दाङका डिल्ली चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सत्ता साझेदार दलहरुको वीचमा सहमती कायम नहुँदा सरकार बनेको झण्डै ९ महिनासम्म पनि सरकारले पूर्णता पाउन सकेको थिएन ।