मकवानपुर बहुमुखी क्याम्पसलाई प्रादेशिक विश्वविद्यालय बनाइने
काठमाण्डौ । बागमती प्रदेश सरकारले हेटौंडास्थित मकवानपुर बहुमुखी क्याम्पसलाई ‘बागमती प्रदेश सार्वजनिक विश्वविद्यालय’ बनाउने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैैठकले प्रदेशको केन्द्रीय क्याम्पसको रुपमा उक्त क्याम्पसलाई विकास गर्ने निर्णय गरेको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो ।
‘आज यही निर्णयको लागि मात्रै प्रदेशको मन्त्रिपरिषद् वैठक बसेको थियो । जसरी कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस छ, त्यसरी नै बागमती प्रदेशको प्रदेश विश्वविद्यालय मकवानपुर बहुमुखी हुन्छ’ उहाँले बताउनुभयो । केही दिनमा नै कार्यालय स्थापना गरेर विश्वविद्यालयको लागि प्रक्रिया सुरु गरिने मुख्यमन्त्री जम्कट्टेलले बताउनुभएको छ ।
मकवानपुर बहुमुखी क्याम्पसमा अहिले त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातकमा मानविकी, वाणिज्य, शिक्षा र विज्ञान संकाय तथा स्नातकोत्तरमा वाणिज्य, मानविकी र शिक्षा संकाय पढाइ भइरहेको क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।