नेपाल र श्रीलङ्काका विदेशमन्त्रीबीच भेटर्वाता, सार्क र बिमस्टेकलाई बलियो बनाउने विषयमा छलफल

काठमाण्डौ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र श्रीलङ्काली समकक्षी मोहम्मद उवैस मोहम्मद अली साब्रीबीच सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजाने विषयमा छलफल भएको छ ।

आज (बिहीबार) काठमाडौंमा भएको दुई मन्त्रीबिचको छलफलमा क्षेत्रीय सङ्गठन सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजाने बारेमा छलफल भएको परराष्ट्रमन्त्री साउदले बताउनुभयो ।

छलफलमा उहाँले दुई पक्षीय सम्बन्धको पुनरावलोकन, व्यापार, लगानी, कनेक्टिभिटी, पर्यटन, संस्कृति, शिक्षा, रक्षा र इमिग्रेशनका बारेमा छलफल भएको जानकारी दिनुभयो । उहाँले संयुक्त राष्ट्रसङ्घ र अन्य बहुपक्षीय फोरममा दुवै राष्ट्रले परस्पर मिलेर सहकार्य गर्ने विषयमा कुराकानी भएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै श्रीलङ्काका विदेशमन्त्री साब्रीले पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन लगायतका क्षेत्रमा नेपाल र श्रीलङ्काबीच थप सहकार्य गरेर जाने बारेमा छलफल भएको बताउनुभयो । उहाँले सार्क र बिमस्टेक लगायतका क्षेत्रीय कार्यक्रमहरुमा विशेष जोड दिएर अघि बढ्ने बारेमा पनि छलफल भएको बताउनुभयो ।