शेयर बजार ३५ अङ्कले बढ्यो
काठमाण्डौ । बुधवार पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से ३५ दशमलव ३९ अङ्कले बढेर दुई हजार एक सय ४१ दशमलव ८७ विन्दुमा पुगेको छ ।
होटल र पर्यटनबाहेक अरू सबै समूहको शेयर उकालो लागेकोमा लगानी समूहको शेयर उच्च अङ्कले बढेको छ । १५ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार उच्च अङ्कले बढेको दिन सबैभन्दा धेरै कुमारी दीघार्यु बचत योजनाको शेयर भने झन्डै चार प्रतिशतले घटेको छ ।
कारोबार रकमले पछिल्लो एक वर्षयताकै रेकर्ड तोडेको छ । एक करोड ९९ लाख ६३ हजार कित्ता शेयर सात अर्ब ९५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ३७ करोड ३४ लाख र सोल्टी होटलको २४ करोड ५३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।