पहिचानवादीहरुले एमालेसँग गुनासो गर्न आवश्यक छैन : महासचिव पोखरेल

काठमाण्डौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पहिचानवादीहरुले एमालेसँग गुनासो गर्न आवश्यक नरहेको बताउनु भएको छ ।

विराटनगरमा आज पत्रकार सम्मेलनमा बोल्दै उहाँले एकल पहिचानको मुद्दा लिएर चुनावमा जानेहरू नै कोशीको पक्षमा आएकाले पहिचानवादीले एमालेसँग गुनासो गर्न आवश्यक नभएको बताउनु भएको हो ।

साथै उहाँले एमालेले साझा पहिचानको कुरा गरेको बताउँदै जनताको तहमा त्यो खालको विरोध नसुनिएको र पहिचानको कुरा गर्नेहरूले वैधानिक हिसावले शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने बताउनु भएको छ ।
मध्यपहाडी लोकमार्ग केन्द्रित यात्रालाई कोशी प्रदेशमा पहिचानको नाममा अवरोध गर्ने प्रयास भए पनि जनतामा पहिचानको मुद्दाको खासै प्रभाव नदेखिएको पोखरेलले बताउनु भयो ।

महासचिव पोखरेलले कोशी प्रदेश नामप्रति एमाले प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले पहिचानको मुद्दा उठाउनेलाई व्यवस्थित रुपमा आफ्ना मुद्दालाई जनतामा लैजान आग्रह गर्नु भयो ।
एमालेले गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी राजमार्ग केन्द्रित संकल्प यात्रा गरेको थियो ।