एमालेको विरोध गर्नेहरू समृद्धिका बाधक हुन् : अध्यक्ष ओली

पाँचथर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको अवरोध गर्ने विकास, परिवर्तन र समृद्धिका बाधक भएको बताउनुभएको छ । एमाले अग्रगमनको पक्षधर भएकै कारण आफ्नो पार्टीविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको उहाँको भनाइ छ ।

एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्जयाङ समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा आज (शनिबार) पाँचथरको फिदिम आइपुग्नुभएका अध्यक्ष ओलीले फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

अध्यक्ष ओलीले शान्ति, सद्भाव र एकता बिना विकास सम्भव नहुने टिप्पणी गर्नुभयो । कोशी प्रदेशमा समृद्धिका लागि सयौँ आयोजना सञ्चालन गर्ने सम्भावना रहेका कारण निर्माणमा जुट्न युवालाई उहाँको आग्रह छ । युवा पुस्ता पहिले अनुत्पादक क्षेत्रमा लागेर समय बरबाद गर्ने, समय गुज्रेपछि विदेशीको घर र देश बनाइदिन जाने गरेको भन्दै उहाँले देशमा विकास आयोजना बन्दा युवा पुस्ता पलायन हुनबाट रोकिने बताउनुभयो ।

सकारात्मक सोच र एकता हुने हो भने पहाडमा विकास र समृद्धिका पर्याप्त सम्भावना रहेको उहाँको भनाइ छ । अध्यक्ष ओलीले पहाडबाट बसाइँ सरेर तराई र सहरी क्षेत्रमा जानेक्रम रोक्न यसअघि निर्माण थालिएका मध्यपहाडी राजमार्ग, तमोर जलसायुक्त आयोजना, उत्तर दक्षिण लोकमार्ग र प्रत्येक पालिकामा निर्माण थालिएका पाँच शय्याका अस्पताल निर्माणले पूर्णता पाउनुपर्ने बताउनुभयो ।

समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा आफ्नो नेतृत्वका नेता कार्यकर्ता कोशी प्रदेशमा प्रवेश गरेपछि पहिचान पक्षधरका नेताले विरोध गरेको भन्दै उहाँले त्यसको अर्थ नभएको बताउनुभएको छ ।

मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको एमालेको समृद्धिका लागि सङ्कल्प यात्रा शनिबार १७ औँ दिनमा पाँचथरको फिदिम आइपुगेको हो । उक्त यात्रा आइतबार मध्यपहाडी लोकमार्गको चिवा भन्ज्याङ पुगेर समापन हुँदैछ ।