मदन भण्डारी मेमोरियल कलेजद्वारा ‘नेपाल प्रजापरिषद् र प्रजातन्त्र’ शीर्षकमा वकतृत्वकला प्रतियोगीता सम्पन्न
काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजले टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानसंगको सहकार्यमा ‘नेपाल प्रजापरिषद् र प्रजातन्त्र’ शीर्षकमा वकतृत्वकला प्रतियोयोगीताको आयोजना गरेको छ ।
आज (शुक्रबार) मदन मदन भण्डारी मेमोरियल कलेजअन्तर्गतको स्कुल अफ लिबरल आर्ट्स प्रमुख डा. रघु मैनालीको संयोजकत्वमा कार्यक्रमको आयोजना भएको हो । प्रतियोगीताको आरम्भ गर्दै क्याम्पस प्रमुख डा. बाबुराम भट्टराईले सहभागी विद्यार्थीहरूलाई निर्भिकताका साथ विषय केन्द्रित भई प्रस्तुति दिन प्रोत्साहन गर्नुभएको थियो ।
नेपाल प्रजापरिषद् र प्रजातन्त्र’ शीर्षकमा विद्यार्थीहरूले निर्णायक मण्डल सामु पाँच मिनेटको प्रस्तुति दिएका थिए । उनीहरुलाई विषयवस्तु, रचनात्मकता र मौलिकता, सन्देश र कथाशैली, प्रस्तुतिकरण तथा आत्मविश्वास र भाषाशैली लगायत पाँचवटा विधामा मूल्याङ्कन गरिएको कार्यक्रम सञ्चालक सुजित मैनालीले बताउनुभयो ।
सांसद विद्या भट्टराईले प्रतिस्पर्धा स्वस्थ र स्वच्छ भएमात्र समाज समृद्ध हुने बताउनुभएको छ । “प्रतिस्पर्धाले नै व्यक्तिलाई अब्बल र समृद्ध बनाउँछ । युवाहरुको अभियानले नै मुलूक सुन्दर बन्छ,” उहाँले बताउनुभयो ।
नेपालको मानव अधिकारवादी संस्था इन्सेकको संस्थापक एवं टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष सुशील प्याकुरेलले विद्यार्थीहरूको नेपालको प्रजातन्त्रप्रतिको चासो र महत्वले आफूलाई निकै खुशी बनाएको बताउनुभएको थियो । टंकप्रसाद स्मृति प्रतिष्ठानले पनि सामाजिक, शैक्षिक एवम् राष्ट्र निर्माणका गतिविधिलाई सधैँ प्रोत्साहन गर्ने उहाँले जनाउनुभयो ।
“हिजोको पुस्ताले गरेका राम्रा कुराहरूले आज हामीलाई यहाँ पुर्याएको छ । हामीले यसलाई टिकाएर भोलिको पुस्तालाई अझै राम्रो जिम्मा लगाउनुपर्छ । त्यसैले टंकप्रसाद स्मृति प्रतिष्ठानले यही संकल्पका साथ अघि बढेको छ” उहाँले भन्नुभयो, “प्रतिस्पर्धा भनेको अब्बल र कमजोर छान्ने होइन सबै अब्बल हुन खोज्नेहरुमध्यको अलिकति बढी अब्बल भएको मात्र हो ।” प्रतिस्पर्धालाई सिकाइको रूपमा लिन उहाँले आग्रह गर्नुभएको छ ।
१० जना प्रतिस्पर्धीहरूमध्ये गौरव पाण्डेले नगद पुरस्कार १० हजारसहित पहिलो, स्नेहा झाले नगद पुरस्कार ६ हजार पाँच सय सहित दोस्रो र सिर्जना न्यौपानेले नगद पुरस्कार ३ हजार पाँच सयसहित तेस्रो स्थान हाँसिल गरेका छन् । त्यस्तै, स्कुल अफ लिबरल आर्ट्सका प्रमुख डा. रघु मैनालीले न्यायोचित ढङ्गबाट प्रतियोगीताको नतिजा निकालेको र आगामी दिनमा पनि विद्यार्थीहरुको शैक्षिक एवम् वौद्धिक वृद्धिविकासका निमित्त यस्ता प्रतियोगीताको आयोजना गरिने बताउनुभएको छ ।